दुर्गा प्रसाईंलाई साधारण तारेखमा छोड्न आदेश

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छोड्न आदेश


काठमाडौं । जिल्ला अदालत पर्साले दुर्गा प्रसाईं साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

सरकारी वकिलको कार्यालय पर्साले सोमबारमात्रै उनीविरूद्ध राज्यविरूद्ध कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले जेठ ४ गते पक्राउ गरेका प्रसाईंलाई जेठ ५ गते पहिलो पटक तीन दिनका लागि र दोस्रो पटक जेठ ७ गते चार दिनका लागि म्याद थप भएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्नलाई थप म्यान नलिन प्रहरीका नाममा आदेश दिएको थियो ।

उनको मुद्दाको अनुसन्धान सकिएमा दर्ता गर्न र नसकिएको अवस्थामा भने छाडेर जेजस्तो कारबाही गर्नुपर्ने हो त्यसलाई अघि बढाउन आदेश दिएको थियो ।