एजेन्सी । अमेरिका र इरानबिच जारी युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता भइरहेका बेला अमेरिकी सेनाले तीन दिनभित्रै दोस्रो पटक हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले आत्मरक्षाका लागि यो कदम चालिएको दाबी गरेको छ । तर, यो नयाँ सैन्य टकरावले दुई देशबिच रहेको नाजुक युद्धविरामलाई नै खतरामा पारेको छ ।
सेन्टकमका अनुसार स्ट्रेट अफ हर्मुज क्षेत्रमा खतरा पैदा गरिरहेका इरानका चारवटा ‘वान-वे अट्याक’ ड्रोनहरूलाई अमेरिकी सेनाले खसालिदिएको छ । यसैगरी, इरानको बन्दार अब्बास सहरको पूर्वी क्षेत्रमा पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला सो स्थानमा आक्रमण गरिएको थियो ।
अमेरिकी सेनाले आफ्ना कारबाहीहरू सीमित र पूर्ण रूपमा रक्षात्मक प्रकृतिको भएको र यसको उद्देश्य युद्धविरामलाई कायम राख्नु रहेको उल्लेख गरेको छ । यसअघि गत सोमबार पनि अमेरिकाले दक्षिणी इरानका क्षेप्यास्त्र केन्द्र र हर्मुजमा बारुदी सुरुङ (माइन्स) बिछ्याउन खोज्ने इरानी डुङ्गाहरूलाई लक्षित गरी आक्रमण गरेको थियो । उक्त द्वन्द्वका कारण सो क्षेत्रमा हजारौँ व्यावसायिक इन्धन ट्याङ्कर जहाजहरू अलपत्र परेका छन् र विश्वव्यापी रूपमा ऊर्जाको मूल्य बढेको छ ।
इरानले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई युद्धविरामको “गम्भीर उल्लङ्घन” भनेको छ । इरानी सरकारले अमेरिकाको यस किसिमको शत्रुतापूर्ण कार्यको उचित जवाफ दिइने चेतावनी दिएको छ । यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको एउटा अमेरिकी ड्रोन खसालेको र फाइटर जेटमाथि फायर गरेको दाबी समेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि आतुर भए पनि हालसम्मको मस्यौदामा अमेरिका सन्तुष्ट नरहेको स्पष्ट पारेका छन् । उनले इरानले आफ्ना सर्तहरू नमानेमा पुनः ठुलो स्तरको बमबारी अभियान सुरु गर्ने चेतावनी दिएका छन् ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त रूपमा युद्ध सुरु गरेका थिए । विगत तीन महिनादेखि जारी यस युद्धका कारण खाडी क्षेत्रमा ठुलो तनाव उत्पन्न भएको छ । इरानी सञ्चारमाध्यमले हर्मुज खोल्ने र अमेरिकी सेना फिर्ता हुनुपर्ने सम्झौताको मस्यौदा सार्वजनिक गरे पनि ह्वाइट हाउसले त्यसलाई “पूर्ण रूपमा कपोलकल्पित” भन्दै अस्वीकार गरेको छ ।

प्रतिक्रिया