काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने नेपाली कांग्रेसले स्पष्ट अडान लिएको छ। बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उक्त प्रतिवेदनमाथि छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले भनिन्, “आयोगले औँल्याएका जुनसुकै व्यक्तिलाई पनि कानुनसम्मत कारबाही गर्नुपर्छ। कानुनभन्दा माथि कोही पनि छैन।” प्रतिवेदनमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत कारबाहीका लागि सिफारिस गरिएको छ। यसबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक थापाले भनिन्, “भदौ २३ मा जति जनालाई भन्नु भएको छ, भदौ २४ मा पनि त्यति नै हुनुहुन्छ। कानुनसम्मत जो कोहीमाथि पनि कारबाही हुन सक्छ र नेपाली कांग्रेसले यसलाई स्वीकार गर्दछ।” उनले प्रतिवेदनलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै भनिन्, “यसलाई अगाडि बढाउनुपर्छ। यसमा हामीले पूर्ण साथ दिन्छौँ।”
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहित १७ जना सांसदमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ। यस विषयमा कांग्रेसको धारणा सोध्दा प्रमुख सचेतक थापाले भनिन्, “जति पनि मुछिएका छन्, सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ।” कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक लिएको र यसलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको स्पष्ट सन्देश दिएको छ।

प्रतिक्रिया