काठमाडौं । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाका लागि राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ ।
नेपालको इतिहासमा पहिलो पटक राजदूत नियुक्तिका लागि यसरी खुला आवेदन आह्वान गरिएको हो । सरकारले राजदूत पदका लागि आवेदन दिन आवश्यक योग्यता र कार्यादेश (TOR) समेत सार्वजनिक गरेको छ ।
मन्त्रालयले आगामी ५ जुन २०२६ बेलुका ५ बजेसम्म आवेदन दिन सकिने जनाएको छ ।
सार्वजनिक गरिएको कार्यविवरणअनुसार राजदूत पद “गजेटेड विशिष्ट श्रेणी” सरह हुने र अधिकतम चार वर्षको कार्यकाल रहने भनिएको छ । साथै, नियुक्ति प्रक्रिया भने नेपाल सरकारको राजदूत नियुक्ति निर्देशिका २०७५ अनुसार हुने उल्लेख गरिएको छ ।
आवेदक योग्यता कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने तथा नेपालका परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिसम्बन्धी अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ ।
साथै, अंग्रेजी भाषामा राम्रो दख्खल राख्नुका साथै सम्बन्धित देशको भाषामा ज्ञान भएको आवेदकलाई अतिरिक्त योग्यता मानिने जनाइएको छ ।
त्यसैगरी विदेशी स्थायी बसोबास अनुमति (PR) वा अन्य आवासीय सुविधा लिएको, भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी कसुरमा दोषी ठहरिएको व्यक्ति आवेदन दिन नपाउने तथा विदेशी सहायता प्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्ति पनि नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरिएको छ ।
मन्त्रालयले उच्च नैतिक चरित्र, कूटनीतिक मर्यादा, संकट व्यवस्थापन क्षमता, नेतृत्वदक्षता र अन्तर्राष्ट्रिय व्यवहारबारे ज्ञानलाई पनि महत्त्वपूर्ण मापदण्डका रूपमा राखेको छ । संयुक्त राष्ट्रसंघ, सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा बहुपक्षीय संस्थाबारे अनुभव भएकालाई प्राथमिकता दिइने जनाइएको छ ।
नियुक्ति प्रक्रियाअन्तर्गत प्रारम्भिक छनोटपछि मन्त्रिपरिषद्ले नाम सिफारिस गर्ने, त्यसपछि संघीय संसद्को संसदीय सुनुवाइ समिति समक्ष सुनुवाइ हुने र सम्बन्धित मुलुकबाट ‘एग्रिमो’ प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति गरिने व्यवस्था गरिएको छ ।
के छ कार्यादेशमा ?
TOR मा नेपालको परराष्ट्र नीतिको मूल आधार असंलग्नता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, संयुक्त राष्ट्रसंघको बडापत्र र विश्वशान्तिको प्रवर्द्धन रहेको उल्लेख गरिएको छ। त्यसैका आधारमा विदेशस्थित दूतावास तथा स्थायी नियोगमार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन गरिने जनाइएको छ।
राजदूतको मुख्य जिम्मेवारीमा द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध विस्तार, नेपाली नागरिकको हित संरक्षण, लगानी तथा व्यापार प्रवर्द्धन, वैदेशिक सहायता परिचालन, पर्यटन र सांस्कृतिक कूटनीति सुदृढीकरण लगायतका विषय समावेश छन् । साथै, विदेशमा रहेका नेपालीको समस्या समाधान, आपत्कालीन सहयोग, श्रम विवाद व्यवस्थापन र डायस्पोरासँग सम्बन्ध विस्तार गर्ने जिम्मेवारी पनि राजदूतकै हुने उल्लेख छ ।
यस्तै आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिइएको छ भने राजदूतहरूले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने, व्यापार तथा पर्यटन प्रवर्द्धन गर्ने, विकास सहायता जुटाउने तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग समन्वय गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, सांस्कृतिक तथा सार्वजनिक कूटनीतिअन्तर्गत नेपालका कला, संस्कृति, सम्पदा र “सफ्ट पावर” प्रवर्द्धन गर्न सांस्कृतिक कार्यक्रम, मिडिया संवाद तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
“एभरेस्ट डे” र “इन्टरनेशनल वेलनेस डे” जस्ता दिवस मनाउनुपर्ने व्यवस्था पनि कार्यादेशमा राखिएको छ । राजदूतलाई सरकारले आवश्यक परे कार्यकालअघि नै फिर्ता बोलाउन सक्ने र पुनः सोही पदमा लगातार दोस्रो कार्यकाल भने नदिइने स्पष्ट पारिएको छ ।

प्रतिक्रिया