पार्टीबाट उम्मेदवार बन्न लिडरसीप एकेडेमीको अनिवार्य कोर्ष पूरा गर्नुपर्ने : कांग्रेसका सभापति थापा

पार्टीबाट उम्मेदवार बन्न लिडरसीप एकेडेमीको अनिवार्य कोर्ष पूरा गर्नुपर्ने : कांग्रेसका सभापति थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न लिडरसीप एकेडेमीको अनिवार्य कोर्ष पूरा गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै सभापति थापाले भने, “लिडरसीप एकेडेमीमा भर्ना भएर कोर्ष पूरा नगरी कसैलाई पनि उम्मेदवार बनाइने छैन ।”
उनले केही दिनभित्रै एकेडेमीमा खुला आह्वान गरिने बताए । ७५३ वटै पालिकामा दोहोरिने वा नयाँ उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा कोर्ष पूरा गर्नुपर्ने उनको भनाइ छ । थापाले महिला नेतृत्वलाई प्राथमिकता दिँदै कम्तीमा १०० पालिकामा महिला मेयर वा अध्यक्ष उम्मेदवार बनाउने तयारी रहेको बताए । “महिलालाई अहिलेदेखि नै बढी भर्ना गराउनुपर्छ,” उनले भने ।
पार्टीले इलेक्सन ब्यूरो गठन गरेको र त्यसको नेतृत्व पुष्पा भुसालले गरिरहेको उनले जानकारी दिए । उनले सबै कार्यकर्तालाई मेहनतका साथ लाग्न आह्वान पनि गरे । यो निर्णयलाई कांग्रेसमा उम्मेदवार छनोट प्रक्रियालाई व्यावसायिक र क्षमतावान बनाउने प्रयासको रूपमा हेरिएको छ ।