झापामा खोलामा बगिरहेको बोरामा भेटियो युवतीको शव

झापामा खोलामा बगिरहेको बोरामा भेटियो युवतीको शव


झापा । झापाको दमक नगरपालिका-१० सेतुमाडीस्थित रतुवाखोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा एक युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, करिब ३०–३२ वर्षीय युवतीको शव पुलमुनि पानीमा फेला परेको हो । शव दुई–तीन दिनदेखि पानीमा रहेकाले ढाडिएको अवस्थामा छ ।

प्रहरीका अनुसार मृतकले रातो भेस्ट र जिन्स पेन्ट लगाएकी थिइन् । उनको बायाँ हातमा ट्याटु छ । अहिलेसम्म मृतकको पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको बताए ।

प्रहरीले मृतकको पहिचान खुलाउन स्थानीय र सर्वसाधारणबाट सहयोग मागेको छ । कसैलाई चिनेमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।