काठमाडौं। नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको निगरानी तथा गस्ती अभियानका क्रममा लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटी क्षेत्रबाट चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नमिल्ने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ निवासी विशाल भण्डारी पक्राउ परेका छन्।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारबाट एक किशोरलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट दुई जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट एक जना तथा इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट खैरो हेरोइन र ४७ हजार ५०० रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
सुनसरीकै भोक्राहानरसिंह गाउँपालिका–६ बाट एक जना र धरान उपमहानगरपालिका–१७ बाट दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–१७ दुधरासबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाट दुई जना तथा कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रबाट तीन जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिको साथबाट खैरो हेरोइन बरामद गरिएको छ। उनीहरूलाई बुधबार र बिहीबार विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया