‘बेपत्ता कर्मचारी’लाई सरकारको चेतावनी

‘बेपत्ता कर्मचारी’लाई सरकारको चेतावनी


काठमाडौं। सरकारले अध्ययन तथा असाधारण बिदामा बसेका, तर बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कारबाहीको चेतावनी दिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्किएका र व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नगरेका कर्मचारीलाई ३ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।

कानुन बमोजिम अध्ययन वा असाधारण बिदा लिएका केही निजामती कर्मचारीहरू बिदा सकिएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा नरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ ।

आफ्नो अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएको भए ३ दिनभित्र अनिवार्यरूपमा अद्यावधिक गराउन भनिएको छ ।

सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए/नभएको अवस्था तथा अन्य आवश्यक किताबखानासँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अद्यावधिक गराउनुपर्ने सूचनामा लेखिएको छ ।

सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीद्वारा जारी सूचनामा लामो समयदेखि सम्पर्कविहीन कर्मचारीको कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ ।