काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको कारण प्रहरीको केरकार र विवादमा परेका सचिव डा। कृष्णहरि पुष्करसहित पाँच जना सचिवलाई जगेडामा राखिएको छ । गत मंगलबारको मन्त्रिपरिषद्को बैठकबाट सचिवहरूको पदस्थापन गर्ने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । मन्त्रिपरिषद्को सोही बैठकको निर्णयका आधारमा शुक्रबार पाँच जना सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरी अतिरिक्तमा राखिएको हो ।
उपराष्ट्रपति कार्यालयका सचिव पुष्करसहित सचिवहरू लोकनाथ पौड्याल, डिल्लीराम शर्मा, हरि मैनाली र गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको हो । वन तथा वातावरण मन्त्रालय कृषि मन्त्रालयमा गाभिएका कारण तत्कालीन वन मन्त्रालयका सचिव गोविन्द शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेर्ने जिम्मा दिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । बाँकी सचिवहरूको भने जिम्मेवारी तोकिएको छैन ।
यसअघि मैनाली सार्वजनिक खरिद अनुगमन कार्यालयमा, पौड्याल युवा तथा खेलकुद मन्त्रालयमा र शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको रूपमा कार्यरत थिए । यी मन्त्रालयहरू खारेजी र गाभिने निर्णयमा परेका कारण मन्त्रालयहरूको नाम परिवर्तन भएको थियो ।

प्रतिक्रिया