जिल्ला अधिवेशन चलिरहेका राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कार्यकर्तालाई सातवटा सन्देश दिएका छन् । आज र भोलि रास्वपाको जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनका क्रममा लामिछानेले नेता कार्यकर्तालाई ‘म’ बाट ‘हामी’ हुन सुझाव दिँदै सात सन्देश प्रवाहित गरेका छन् ।
असारमा हुने महाधिवेशनका लागि जिल्लाको अधिवेशन हुन लागेको हो । त्यही जिल्ला अधिवेशनका क्रममा सभापति लामिछानेले नेता र कार्यकर्तालाई एक साथ सन्देश छन् ।
एक, नेतृत्व मात्र होइन, विधि निर्माणमा जोड । लामिछानेले कार्यकर्तालाई अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको दाबी गरेका छन् । र, यसैले आउने दिनको निर्देश गर्ने पनि भनेका छन् ।
दुई, लोकतान्त्रिक विधि अपनाउँ । लामिछानेले सक्षम नेतृत्व चयनमा जोड दिन आग्रह गरेका छन् । उनले पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन् । त्यसरी नेतृत्व चयनमा सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गन सकिने बताएका छन् । लोकतान्त्रिक प्रक्रियाबाट नै पार्टी अझ बलियो र परिपक्व बन्दै जाने उल्लेख गरेका छन् ।
तीन, शैली सुधार्नु । सभापति लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएको र त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ ।’
चार, पदको लोभ नगर्नू । जिल्ला अधिवेशनको सम्मुखमा सभापति लामिछानेले नेताहरूलाई पदप्रतिको आशक्ति नदेखाउन पनि सन्देश दिएका छन् । उनले स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाबकिताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने दाबी गरेका छन् । उनले भनेका छन्, ‘चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।’
साथै, उनले पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिएको पनि टिप्पणी गरेका छन् । यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्न जाेड दिएका छन् ।
पाँच, नयाँलाई ऊर्जा । सभापति लामिछानेले पछिल्ला दिनमा जोडिएका नेताहरूप्रति सदभाव राख्न पनि आग्रह गरेका छन् । खासगरी वालेन्द्र शाह ‘बालेन’सँग जोडिएका नेताहरूप्रति रास्वपाका पुराना नेताहरूको टिप्पणी हुने गरेकोलाई निस्तेज गर्न लामिछानेले नयाँ पुस्ताको ऊर्जा र सक्रियतालाई नजरअन्दाज नगर्न सन्देश दिएका छन् । उनले भनेका छन्, ‘आज हामी जहाँ छौँ, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो । पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो ।’
छ, वैकल्पिक होइन सक्षम दल । सभापति लामिछानेले परम्परागत राजनीतिक दलहरूको विकल्पको रूपमा आफूहरू बन्न नहुने तर्क गरेका छन् । उनले रास्वपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने नभएर मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको दाबी गरेका छन् । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउन जोड दिएका छन् ।
सात, आफू केन्द्रित नहुनू । लामिछानेले अहिले संगठन विस्तारको क्रममा आफूलाई केन्द्रमा नराख्न पनि सन्देश दिएका छन् । उनले संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने उल्लेख गरेका छन् । उनले पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुने आश्वसन दिएका छन् ।लामिछानेले नेता कार्यकर्तालाई धैर्य, त्याग र समर्पणमा जोड दिएका छन् । उनले युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन धैर्य, त्याग र समर्पण देखाउनुपर्ने उल्लेख गरेका छन् । उनले भने, ‘अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ ।’

प्रतिक्रिया