कांग्रेस केन्द्रीय समितिको खारेजी माग गर्दै बोलाइयो युवा भेला

कांग्रेस केन्द्रीय समितिको खारेजी माग गर्दै बोलाइयो युवा भेला


काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले ‘बृहत् युवा भेला’ गर्दै छन्। कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न इतर समूहका युवाहरूले जेठ ३० गते युवा भेला गर्न लागेका हुन्।

युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार नवदुर्गा पार्टी भेन्यु सुकेधारामा हुने भेलाका लागि ५ एजेन्डा तय गरिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति र भ्रातृ संस्था तदर्थ कार्यसमिति खारेजीका साथै क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य, आगामी भदौभित्र महाधिवेशन र पार्टीमा युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने एजेन्डा तय गरिएको शाहीले बताए। भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला निकट युवाहरूको सहभागिता हुनेछ।

दुवै समूहका सबै युवा नेताहरूको आयोजनामा हुने भएको संयोजन नेताहरू भुपेन्द्रजंग शाही, धमेन्द्र नेम्वाङ, खगेन्द्र मल्ल, दीपक भट्टराई मनोहरि श्रेष्ठ, दुजाङ शेर्पा, प्रेमिका राना, सागर परियार, रिता शाही, मैना कार्की, चन्दा जोशीसहितले गरिरहेका छन्।