एमाले छोडेका ८ वडाध्यक्ष पदमुक्त

एमाले छोडेका ८ वडाध्यक्ष पदमुक्त


काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका आठ जना वडाध्यक्षको पद स्वतः रिक्त भएको घोषणा गरेको छ ।

आयोगले सूचना जारी गर्दै नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएर पछि दल परिवर्तन गरेका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम एमाले केन्द्रीय सचिवालयले उनीहरूले दल त्याग गरेको निर्णय आयोगमा पठाएको थियो उक्त सिफारिसका आधारमा आयोगले आवश्यक छानबिन गरी जेठ २६ गतेदेखि सम्बन्धित जनप्रतिनिधिहरू निर्वाचित भएका पदहरू स्वतः रिक्त भएको निर्णय गरेको जनाएको छ ।

जसअनुसार ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, मोलुङ–६ का वडाध्यक्ष कमल तामाङ तथा चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा पदमुक्त भएका छन् ।

यस्तै, मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनालको पद पनि रिक्त भएको आयोगले जनाएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी र दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन शर्मा तथा बागमती प्रदेशको ललितपुरस्थित बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईं पनि पदमुक्त भएका छन् ।