रास्वपा तनहुँ सभापतिमा दुई पूर्वकांग्रेस नेताबीच प्रतिस्पर्धा, बाँस्तोला विजयी

रास्वपा तनहुँ सभापतिमा दुई पूर्वकांग्रेस नेताबीच प्रतिस्पर्धा, बाँस्तोला विजयी


तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तनहुँ जिल्ला सभापतिमा दुई पूर्व नेपाली कांग्रेस नेताबीच प्रतिस्पर्धा भएको छ। कांग्रेसका पूर्व सचिव विश्वनाथ बाँस्तोला र कांग्रेसको प्रशिक्षण विभागका पूर्व सदस्य डा. शेषरमण न्यौपानेबीच भएको प्रतिस्पर्धामा बाँस्तोला विजयी भएका छन्। मतदानमार्फत सम्पन्न नेतृत्व चयनमा बाँस्तोलाले १८७ मत प्राप्त गर्दै ठूलो मतान्तरसहित जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी डा. न्यौपानेले ६४ मत प्राप्त गरे।

बाँस्तोला यसअघि नेपाली कांग्रेसमा दुई पटक तनहुँ जिल्ला सचिव भइसकेका थिए। उनी पछिल्लो महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सभापति पदमा पराजित भएका थिए। २०७९ को चुनावमा तनहुँ–१ बाट कांग्रेस नेतृत्वलाई जिताउन उनले भूमिका खेलेका थिए। पछि स्वर्णिम वाग्ले रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बनेका बेला बाँस्तोला पनि रास्वपामा प्रवेश गरेका थिए।

पराजित उम्मेदवार डा. शेषरमण न्यौपाने कांग्रेसको प्रशिक्षण विभाग सदस्यसमेत रहिसकेका छन्। उनी तनहुँ–२ बाट टिकट आकांक्षी र व्यास नगर सभापति पदका आकांक्षीसमेत थिए। पराजित भएपछि उनले आफू सही बाटोमा रहेको आत्मविश्वास अझ बलियो भएको प्रतिक्रिया दिएका छन्।     यसैबीच उपसभापतिमा विष्णुबहादुर पन्त १३१ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी पदमराज न्यौपानेले १२४ मत प्राप्त गरेका छन्। सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् भने सहसचिवमा दुर्गाकुमार श्रेष्ठ १२७ मतसहित विजयी भएका छन्।