काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले छ जना राष्ट्रियसभा सांसदलाई कार्वही गर्ने तयारी गरेका छन् । निर्वतमान सभापति शेरबहादुर देउवा निकट मानिने राष्ट्रियसभा सदस्यहरू कृष्ण प्रसाद पौडेल, खम्बबहादुर खाती, कृष्णबहादुर रोकाया, जितजंग बस्नेत, जगत मिल्सिना र ललितजंग शाहीलाई कार्वही गर्ने तयारी गरेको एक पदाधिकारीले बताए ।
उनका अनुसार उनीहरूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगरेको प्रमाण भेटेपछि कार्वहीको तयारी गरेको हो । कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले गत जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न अन्तिम म्याद दिएको थियो। तर यी सांसदहरूले तोकिएको समयभित्र सदस्यता नवीकरण नगरेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।त्यसपछि सभापति थापाले विधानअनुसार नै कारबाही गर्न अनुशासन समिति र पदाधिकारीसंग छलफल गरेको बताइएको छ ।
कांग्रेस विधानअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्नु प्रत्येक सदस्यको अनिवार्य दायित्व हो। सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीको नेता मान्न नमिल्ने र सांसदको हैसियत कायम राख्न पनि कठिन हुने विधानविद् हरुले सभापति थापालाई राय दिएकाछन् ।
विशेष महाधिवेशनपछि गठित गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै यी सांसदहरूले सदस्यता अद्यावधिक नगरेको ठहर गर्दै कारवाहीको तयारी गरिएको हो ।

प्रतिक्रिया