काठमाडौं । बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संस्थापक देवी खड्काले द्वन्द्वकालीन यौन हिंसापीडित महिलाहरू अझै पनि ट्रमाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताएकी छन् ।
शुक्रबार द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पीडित महिलाहरूको आत्मविश्वास पहिलेभन्दा बलियो भए पनि ट्रमा जीवनभर साथ रहने बताएकी छन् ।
उनले भनिन्, ‘केही पाएर होइन, हाम्रो आत्मागत अवस्था अलि बलियो भएको छ । हामी अलि स्टेबल भएका छौँ । यसको मतलव ट्रमाबाट मुक्त भयौँ भन्ने होइन । ट्रमा हाम्रो साथी हो, यो जिन्दगीभरी हुन्छ । ट्रमालाई थोरै जितिरहेका छौँ ।’
उनले केही उपलब्धि हासिल भएपनि सबै काम पूर्ण रूपमा सन्तोषजनक नभएको बताउँदै इतिहाससँगै सुधारका प्रक्रियाहरू अघि बढिरहेकाले निरन्तर प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
विगतमा यौन हिंसापीडित करिब तीनसय महिलाको स्वास्थ्य उपचारका लागि विशेष प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै उनले त्यससम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट पूर्ण रूपमा पारित वा कानुनी रूपमा प्रमाणीकरण नभएको उल्लेख गरिन् ।
‘विगतको सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको रहेनछ । प्रमाणीकरण पनि भएको रहेनछ । कानुनमा पनि थिएन’, उनले भनिन्, ‘तर हामीले तीन सय जना दिदीबहिनीको स्वास्थ्य उपचारको लागि प्रक्रिया अगाडि बढाएका थियौं । अहिले पनि त्यही कार्ड लिएर सरकारी अस्पताल जानुहुन्छ । धेरैको ज्यान बचेको छ ।’ उनले त्यही कार्ड प्रयोग गरी पीडित महिलाहरूले अझै सरकारी अस्पतालबाट उपचार गरिरहेको बताइन् ।

प्रतिक्रिया