रास्वपालाई गगनको सुझाव – जनमतको उन्मादमा होइन, लोकतान्त्रिक संस्कारमा अघि बढ्नुस्

रास्वपालाई गगनको सुझाव – जनमतको उन्मादमा होइन, लोकतान्त्रिक संस्कारमा अघि बढ्नुस्


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार वर्षमै हासिल गरेको राजनीतिक सफलताको प्रशंसा गर्दै जनताबाट प्राप्त असाधारण जनमतलाई जोगाउन नेतृत्वले अहंकार र आन्तरिक टकरावबाट बच्नुपर्ने बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्व भूमिकाको प्रशंसा गर्दै दुवैलाई बधाई दिएका हुन्।

उनले रास्वपाले छोटो अवधिमै प्राप्त गरेको जनमत नेपालको राजनीतिक इतिहासमा विरलै देखिएको उपलब्धि भएको उल्लेख गरे।

“रास्वपाले पाएको जनमत असाधारण हो, यसमा दुईमत छैन। नेपालको इतिहासमा यस्ता अवसर तीन–चार पटक मात्रै आएका छन्। तर त्यस्ता दलहरू नेताहरूको अहंकार, आन्तरिक टकराव र सत्ताको उन्मादका कारण दुर्घटनामा परे,” उनले भने।

थापाले विगतमा जनमत पाएका राजनीतिक दलहरू कमजोर हुँदा केवल पार्टी मात्र नभई एउटा पुस्ताले नै त्यसको मूल्य चुकाउनुपरेको स्मरण गराउँदै रास्वपाले त्यस्तो गल्ती दोहोर्याउन नहुने बताए।

उनले नेपाली कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि शत्रुताको सम्बन्ध नरहेको स्पष्ट पारे।

“कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुस्मन होइन। हामी अग्लो बन्न चाहन्छौं भने आफ्नै बलमा बन्ने हो, तपाईंलाई होचो बनाएर, खुट्टा काटेर वा फोहोर बनाएर होइन,” उनले भने।

थापाले संसद्मा कांग्रेसले आवश्यक पर्दा सरकारको आलोचना र खबरदारी गर्ने गरेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र संसदीय मर्यादाको पक्षमा आफूहरू सधैं उभिने बताए।

“प्रतिनिधिसभामा प्रधानमन्त्री नआउँदा हामीले औँला उठायौं। सरकारका मन्त्रीले कसैलाई डोरीले बाँध्ने जस्ता अभिव्यक्ति दिँदा पनि विरोध गर्‍यौं। देशको सीमाना मिचिएको विषयमा पनि हामीले आवाज उठाएका छौं,” उनले भने।

उनले लोकतन्त्र कांग्रेसको “डीएनए” मा रहेको उल्लेख गर्दै लोकतान्त्रिक संस्कार, स्वस्थ प्रतिस्पर्धा र जनमतप्रतिको जिम्मेवारीलाई सुदृढ बनाउन रास्वपालाई आग्रह गरे।