काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताएका छन् ।
मंगलबार रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताएका हुन् ।
चितवनको भरतपुरमा जारी महाधिवेशनका कार्यक्रम तालिकाभन्दा ढिलो अघि बढेपछी प्रवक्ता झाले बन्दसत्र सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै व्यवस्थापनका कारण महाधिवेशन एक दिन थपिन सक्ने संकेत गरेका छन् ।
उनका अनुसार प्रतिनिधि दर्ता, नामावली व्यवस्थापन र किट वितरणजस्ता प्राविधिक तयारी समयमै पूरा नहुँदा बन्दसत्र ढिलो सुरु भएको हो । उनले सबै प्रक्रिया पूरा गरेर आजैदेखि बन्दसत्र अघि बढाइएको बताए ।
झाले भने, ‘प्रतिनिधि संख्या अपेक्षाभन्दा बढी भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । करिब पाँच सयभन्दा बढी प्रतिनिधि थपिएपछि नामावली अद्यावधिक, दाबी–विरोध प्रक्रिया र सामग्री व्यवस्थापनमा समय लागेको हो ।’
उनले संगठन निर्माण सबै प्रदेशमा समान रूपमा नपुगेको कारण पनि समस्या देखिएको बताए । विशेषगरी केही प्रदेशमा संगठन विस्तार ढिलो भएकाले प्रतिनिधि सूचीमा छुटफुट भएको उनले स्वीकार गरे ।
समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले ३३ प्रतिशत आरक्षण, सभापतिलाई २०० प्रतिनिधि थप्ने अधिकार र समायोजन समितिबाट थप १०० देखि १५० प्रतिनिधि समावेश गर्ने व्यवस्था गरेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘हामी सिक्दै छौँ, कतिपय कुरा अपेक्षाभन्दा फरक भए पनि सबैलाई समेट्ने प्रयास भइरहेको छ ।’
उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले लामो समय, खर्च र मेहनत गरेर आएको भन्दै उनीहरूको असन्तुष्टि स्वाभाविक भएको टिप्पणी गरे । साथै, व्यवस्थापनको कारण कार्यक्रम केही लम्बिन सक्ने अवस्था रहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया