काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट गैरकानुनी, गैरन्यायिक, प्रतिशोधपूर्ण तथा अपमानजनक ढंगले पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई राज्यले ‘लुटेरा र अपराधी’ सरह व्यवहार गर्दै सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं ल्याएको भन्दै त्यसको कडा विरोध गरेको हो । बैठकले यस्तो कार्यलाई राजनीतिक प्रतिशोध र राज्य आतंकको नमुना भएको निष्कर्ष निकाल्दै तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले संसदीय फाँटलाई अझ सशक्त बनाउने र त्यसका लागि पार्टीसँग आवश्यक सहकार्य गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी सरकारले संविधानको मर्मविपरीत अधिनायकवादी बाटो समातेको आरोप लगाउँदै एमालेले यस्ता गतिविधिविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको जनाएको छ ।
बैठकले मुलुकमा मूल्यवृद्धि र महँगी बढ्दै गएको भन्दै जनजीवनमा परेको असरप्रति सरकारको ध्यानाकर्षण गराएको छ । साथै राज्य आतंकको अन्त्य गर्न पनि माग गरेको छ ।
बर्खायाम सुरु भइसकेकाले सम्भावित प्राकृतिक विपद्को पूर्वतयारी, सचेतना तथा उद्धार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिएको छ । यस्तै, खेतीपातीको मुख्य समयमा किसानलाई आवश्यक मलखादको अभाव हुन नदिन अविलम्ब पर्याप्त मलखादको व्यवस्था गर्न पनि एमाले संसदीय दलले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया