रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार


काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी सदस्यको संख्या ५ लाख २३ हजार ४५६ जना रहेको जनाएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीले मंगलबार रास्वपाको पहिलो महाधिवेशनको बन्दसत्रमा पेस गरेको सांगठनिक प्रतिवेदनमा प्रदेशगत संख्यासहित कुल सदस्य संख्या उल्लेख छ । जसअनुसार रास्वपाका सबैभन्दा बढी सदस्य मधेसमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् ।

प्रतिवेदनमा उल्लेख भएअनुसार मधेसमा २३.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, लुम्बिनीमा १४.५ प्रतिशत, कोशीमा १४ प्रतिशत, गण्डकीमा ११.८ प्रतिशत, सुदूरपश्चिममा १०.६ प्रतिशत र कर्णाली प्रदेशमा ५.२ प्रतिशत सदस्य रहेका छन् ।

प्रतिवेदनअनुसार संख्याका हिसाबले कोशीमा ७३ हजार ३५५, मधेसमा एक लाख २१ हजार ८९९, बागमतीमा एक लाख ७ हजार ३२०, गण्डकीमा ६१ हजार ९२५, लुम्बिनीमा ७५ हजार ९६२, कर्णालीमा २७ हजार ३२५ र सुदूरपश्चिम प्रदेशमा ५५ हजार ६७९ जना सदस्य छन् ।

रास्वपाको सदस्यता लिनेमध्ये ३ लाख ९६ हजार ७८९ जना पुरुष (७५.८ प्रतिशत) र महिला ८९ हजार ८९६ जना (१७.२ प्रतिशत) रहेको प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाका सदस्यमा १८ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा ठूलो संख्या ३ लाख ३५ हजार ४७८ जना छन् ।

सदस्यता लिनेमा १८ वर्षमुनिका ३५ हजार २५७ जना, ४६ देखि ६५ वर्षका ९८ हजार ८५७ जना, ६५ वर्षभन्दा माथिका १३ हजार ६८२ जना र उमेर नखुलेका ४० हजार १९१ जना रहेका प्रतिवेदनमा उल्लेख छन्।