काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले पहिलो पटकका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद मागेको थियो ।
अदालतको आदेशमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जरुरी पक्राउ पूर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि अनुरोध भएकोमा जरुरी पक्राउ पूर्जी स्वीकृत भई आज पहिलो पटक सात दिन म्याद थप भएको छ ।’
पौडेललाई विभागको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सोमबार पक्राउ गरेको थियो । पक्राउपछि मंगलबार उनलाई काठमाडौं ल्याई विशेष अदालतमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया