विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट

विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।

बुधबार पौडेलकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ ।

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टको सेयर कारोबारसँग जोडेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले असार ८ गते सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले आवश्यक पक्राउ पुर्जी जारी गरी उनलाई मंगलबार बिहान भ्यानमार्फत काठमाडौं ल्याएको थियो ।

त्यसपछि विशेष अदालतले मंगलबार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो ।