काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत भएको पदाधिकारी निर्वाचनबाट सोबिता गौतम उपसभापति र विपिनकुमार आचार्य महामन्त्री निर्वाचित भएका छन्।
चितवनको भरतपुरमा शुक्रबार सम्पन्न निर्वाचनमा सोबिताले डा. तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापति पदमा जित हासिल गरेकी हुन्।
सोबिता प्रतिनिधिसभा सदस्य तथा कानुनमन्त्री हुन्। उनी यसअघि पनि प्रतिनिधिसभा सदस्य रहिसकेकी छन् भने पार्टीको सचिवालय सदस्यको जिम्मेवारीमा थिइन्।
रास्वपाको विधानअनुसार तीन जना उपसभापति रहने व्यवस्था छ। यसअघि स्वर्णिम वाग्ले निर्विरोध उपसभापति चयन भइसकेका छन् भने अर्को एक उपसभापति मनोनयनमार्फत चयन गरिनेछ।
यस्तै, महामन्त्री पदमा विपिनकुमार आचार्य विजयी भएका छन्। उनले मनिष झा, सागर ढकाल र गणेश कार्कीसँगको प्रतिस्पर्धामा जित निकालेका हुन्।
महामन्त्री पदका उम्मेदवार गणेश पराजुली, राजु पाण्डे, कबिन्द्र बुर्लाकोटी, जगदीश खरेल, रन्जु दर्शना र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै विपिनलाई समर्थन गरेका थिए।
प्रतिनिधिसभा सदस्यसमेत रहेका विपिन यसअघि रास्वपाको सहमहामन्त्री थिए। महाधिवेशनबाट उनी अब पार्टीको महामन्त्रीमा निर्वाचित भएका छन्।

प्रतिक्रिया