काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, निरंकुशता तथा वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध वामपन्थी र देशभक्त शक्तिहरू ढिला नगरी एकजुट हुनुपर्ने बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको परिस्थितिमा वामपन्थी र देशभक्त शक्तिहरूबीच तत्काल सहकार्य आवश्यक रहेको बताएका हुन्।
उनले भने, ‘राष्ट्रिय स्वाधीनता, निरंकुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुनेछ।’
प्रचण्डले आफूले तत्काल पार्टी एकता गरिहाल्नुपर्ने प्रस्ताव नराखेको स्पष्ट पार्दै अहिलेका लागि साझा एजेन्डामा आधारित सहकार्य अघि बढाउनुपर्ने धारणा राखे।
उनका अनुसार संसददेखि निर्वाचनसम्म वामपन्थी शक्तिहरूबीच सहकार्य सम्भव छ र त्यसतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता रहेको छ।
उनले राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न समान विचार भएका शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको समेत बताए।

प्रतिक्रिया