काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि एमाले आफ्नो नीतिमा कुनै सम्झौता वा पुनः छलफल गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेले राजनीतिक, आर्थिक, सामाजिक लगायतका सबै क्षेत्रमा सही नीति अवलम्बन गरेको दाबी गरे।
उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन। हामीले राजनीतिक, सामाजिक, आर्थिक लगायत अनेक पक्षमा सही नीति निर्धारण गरेका छौँ।’
ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई समयानुकूल परिमार्जन र विकास गर्दै अघि बढाइने पनि बताए।
ओलीको यो अभिव्यक्ति नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र वरिष्ठ वामपन्थी नेता झलनाथ खनालले वामपन्थी शक्तिबीच सहकार्य तथा एकताको आवश्यकता औँल्याएको केहीबेरपछि आएको हो।
यसअघि सोही कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधीनता, वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू ढिला नगरी एक हुनुपर्ने बताएका थिए। उनले तत्काल पार्टी एकताको प्रस्ताव नगरे पनि संसददेखि निर्वाचनसम्म सहकार्य गर्न सकिने धारणा राखेका थिए।
त्यसअघि माधव नेपालले भावनाका आधारमा मात्रै कम्युनिस्ट एकता सम्भव नहुने भन्दै विगतका कमजोरीको गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका थिए। उनले सिद्धान्त, नीति र व्यवहारका आधारमा मात्रै दिगो एकता सम्भव हुने धारणा राखेका थिए।
यस्तै, झलनाथ खनालले पनि वामपन्थी शक्तिहरू निर्वाचनअघि नै कार्यगत एकतामा उभिएको भए अहिलेको राजनीतिक अवस्था फरक हुने दाबी गर्दै वाम एकताको पक्षमा धारणा व्यक्त गरेका थिए।
यता ओलीले भने एमालेको नीति नै सही भएकाले एकताका नाममा पार्टीको वैचारिक आधारमाथि पुनः छलफल नहुने स्पष्ट सन्देश दिएका छन्। यससँगै मदन भण्डारीको जन्मजयन्ती समारोह वामपन्थी एकताको बहस र त्यसप्रति एमालेको स्पष्ट अडान सार्वजनिक गर्ने मञ्च बनेको छ।

प्रतिक्रिया