विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा विशेष अदालतले बुधबार चौथोपटक म्याद थप गर्ने आदेश दिएको हो ।

न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पौडेललाई अहिले न्यायिक हिरासतमा राखेर सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ ।

पौडेललाई असार ८ गते सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टसँगको आर्थिक सम्बन्ध र कारोवारमा जोडिएको आरोपमा पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई सार्वजनिक यातायातमार्फत काठमाडौं ल्याइएको थियो ।

अनुसन्धानको केन्द्रमा रहेको विषय श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर किनबेच हो । उक्त सेयर दीपक भट्टको एकल नियन्त्रणमा रहेको हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले खरिद गरेको थियो ।

अनुसन्धान निकायका अनुसार सेयरको किताबी मूल्य करिब ३० करोड रुपैयाँ रहे पनि त्यसलाई ३ करोड ७५ लाख रुपैयाँमा खरिद–बिक्री गरिएको देखिएको छ ।

सरकारी पक्षले यही कारोबारलाई शंकास्पद मान्दै वास्तविक मूल्यभन्दा अत्यन्त कम मूल्यमा सेयर हस्तान्तरण गरेर ठूलो रकमको स्रोत लुकाउने प्रयास भएको दाबी गरेको छ ।