विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले मागिन् माफी

विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले मागिन् माफी


सुर्खेत ।टेलिभिजन अन्तर्वार्तामा अछाम र छाउपडी प्रथाबारे दिएको अभिव्यक्तिका कारण विवादमा परेकी कलाकार इब्सल सन्ज्यालले सार्वजनिक माफी मागेकी छन् । फेसबुकमार्फत उनले आफ्नो भनाइले अछामवासीको भावना आहत भएको स्वीकार गर्दै हृदयदेखि क्षमा याचना गरेकी हुन् ।

न्युज २४ टेलिभिजनको कार्यक्रममा सन्ज्यालले ‘अछामको मान्छे अमेरिकामा बस्नुहुन्छ रे, तर त्यहाँ पनि छाउगोठ छ रे, ठाउँ परिवर्तन गरे पनि चेतना परिवर्तन भएन’ भन्ने आशयको टिप्पणी गरेकी थिइन् । उक्त भनाइ सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना भएको थियो ।

स्पष्टीकरण जारी गर्दै सन्ज्यालले अमेरिकामा रहेका एक शुभचिन्तकसँगको कुराकानीमा आधारित उक्त भनाइ दिएको बताइन् । “मैले प्रत्यक्ष देखेकी थिइनँ र अहिले पुष्टि गर्न पनि सक्दिनँ,” भन्दै उनले पुनः क्षमा मागिन् । लामो समयदेखि छाउपडीविरुद्ध सचेतना अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उनले आफ्नो उद्देश्य अछामको प्रतिष्ठा घटाउने नभई महिनावारीका बेला महिलाले सुरक्षित, सफा र सम्मानजनक वातावरण पाउनुपर्ने सन्देश दिनु रहेको स्पष्ट पारिन् ।

उनले छाउगोठमा बस्नुपर्दा बलात्कार, सर्पदंश लगायतका घटनाबाट १९ जनाको मृत्यु भएको तथ्यांकसमेत उल्लेख गरेकी छन् ।

अछामका स्थानीयले भने छाउपडी अमानवीय प्रथा भएकोमा सहमति जनाए पनि एक जिल्लालाई मात्र यसको प्रतीक बनाउनु गलत भएको बताएका छन् । उनीहरूका अनुसार अछाममा छाउपडी घट्दै गएको छ र समुदायले नै अभियान सञ्चालन गर्दै आएको छ । समस्या जहाँ छ त्यहीँ समाधान खोज्नुपर्ने उनीहरूको भनाइ छ ।