सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला


हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन् । बाढीले बगाएको स्कुटर भेटिएको एक दिनपछि चालकको शव घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा पुरिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजीका क्रममा खोलामा करिब एक मिटर गहिराइमा बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला पारेको हो ।

घटना असार २९ गते अपराह्न करिब ३ बजेतिर भएको थियो । अविरल वर्षासँगै सिमखोलामा आएको आकस्मिक बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो । घटनालगत्तै सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिए पनि खोलाको तीव्र बहाव, वर्षा र प्रतिकूल मौसमका कारण पहिलो दिन चालकको खोजी सफल हुन सकेको थिएन ।

मंगलबार बिहान खोजीका क्रममा बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब २०० मिटर तल क्षतविक्षत अवस्थामा फेला परेको थियो । त्यसपछि खोजीलाई थप तीव्र बनाइएको थियो ।

प्रहरीले यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा उक्त स्कुटर सर्लाही निवासी महेशकुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि गरेको थियो । शव फेला परेसँगै मृतक पनि महेश कुमार कार्की नै रहेको पुष्टि भएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए । उनका अनुसार घटनास्थलमा खोजी कार्यमा संलग्न रहेका कार्कीका परिवारले उनको पहिचान गरेका हुन् ।

प्रहरीका अनुसार बाढीले चालकलाई स्कुटरसहित बगाएपछि उनी खोलाको बहावसँगै तल पुगेका थिए । खोजीका क्रममा शव बालुवा र लेदोले पुरिएको अवस्थामा भेटिएको हो । शव फेला परेपछि आवश्यक मुचुल्का तथा पोस्टमार्टमका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।