काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली-कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआईटी) परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले आज कञ्चनपुरको पुनर्वास नगरपालिका-११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा सीमा संवाद समूह (बोर्डर इन्टरयाक्सन टिम) परिचालन गरिएको घोषणा गरेका हुन् ।
सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने योजनाअनुसार गौरीफन्टा नाकामा ‘बीआईटी’ परिचालन गरिएको बताए । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवेदीले सीमा नाकामा कडा सुरक्षा र सहज आवागमनबीच सन्तुलन कायम गर्दै नागरिकसँग प्रत्यक्ष समन्वय बढाउने उद्देश्यले टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार सादा पोसाकमा परिचालित टोलीमार्फत सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, आवश्यक सूचना सङ्कलन तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सीमा नाकाबाट आवतजावत गर्ने नागरिकले वर्दीधारी सुरक्षाकर्मीभन्दा सादा पोसाकमा रहेका टोलीसँग सहज रूपमा सम्पर्क गर्नसक्ने भएकाले सुरक्षासम्बन्धी सूचना प्राप्त गर्न र नागरिकसँग विश्वासको सम्बन्ध विस्तार गर्न यो अवधारणा उपयोगी हुने उनको भनाइ छ ।
बाहिनीपति सुवेदीले सीमा समन्वय टोलीमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई ‘निगरानी, समन्वय र नियन्त्रण’ को नीतिअनुसार अनुशासित, नागरिकमैत्री र त्रुटिरहित ढङ्गले जिम्मेवारी निर्वाह गर्न निर्देशनसमेत दिए ।
सशस्त्र प्रहरीले सीमा प्रवेश विन्दुहरूमा यस्ता टोली परिचालन गर्दै सीमासुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, नागरिकमैत्री र सूचना–आधारित बनाउने रणनीति अघि बढाएको जनाएको छ । हाल गौरीफन्टा नाकासहित हाल देशका विभिन्न छ जिल्लामा कार्यारम्भ गरिएको हो ।

प्रतिक्रिया