लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा कांग्रेसका पाँचै मन्त्रीले दिए राजीनामा


दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

सरकारमा सहभागी मन्त्रीहरूले आइतबार कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलका नेता चौधरीलाई राजीनामा पठाएको जानकारी दिए ।

नेकपा एमाले र नेकपाबीच शनिबार लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेसका मन्त्रीहरूले सरकार छाड्ने निर्णय गरेका हुन् ।

कांग्रेसका तर्फबाट सरकारमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।

यससँगै कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेतनारायण आचार्यलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार गठन भएको थियो । दुई दलबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति अनुसार एमालेका नेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । तर, एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने नयाँ सहमतिपछि कांग्रेस सरकारबाट बाहिरिएको हो ।