एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु


काठमाडौँ। एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १०ः०० बजेदेखि साउन १२ गते बिहान १०ः००सम्मको विवरणअनुसार विपद्का घटनाबाट १० जिल्ला प्रभावित भएका छन् । यो अवधिमा तीन जनाको मृत्यु भएको, २१ जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी १२ वटा सर्पदंशका घटना भएका, १२ वटा पहिरो, सात आगलागी, छ अविरल वर्षा, तीन जनावर आक्रमण, एक बाढी र एक भूकम्पको घटना भएका छन् ।

ती घटनाका कारण करिब रु नौ लाख २२ हजार ५०० बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यसैबीच, चालु वर्षको वैशाख १ गतेदेखि साउन १२ गते बिहानसम्म देशभर तीन हजार ७८८ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी १९२ जनाको मृत्यु, तीन जना बेपत्ता र एक हजार १३९ जना घाइते भएका छन्। यस अवधिमा पाँच हजार चार परिवार विभिन्न विपद्बाट प्रभावित भएका प्राधिकरणले जनाएको छ ।