सामाजिक सद्भाव अभियान चलाउने कांग्रेसको निर्णय

सामाजिक सद्भाव अभियान चलाउने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा विकसित तनावपूर्ण अवस्थाप्रति गम्भिर चिन्ता व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।

पार्टी सभापति तथा पदाधिकारीको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठक तथा मधेश प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र सम्बन्धित जिल्लाका पार्टी नेतृत्वसँग गरिएको भर्चुअल छलफलपछि कांग्रेसले यस्तो निर्णय सार्वजनिक गरेको हो।

बैठकमा सभापति, पदाधिकारी, केन्द्रीय सदस्य, संसदीय दलका नेता, सांसद, मधेश प्रदेशका मुख्यमन्त्री, गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र प्रदेश तथा स्थानीय तहका पार्टी नेतृत्व सहभागी थिए।

कांग्रेसले देवानगञ्ज घटनामा सरकारको गैरजिम्मेवारी, असंवेदनशीलता तथा नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै आपत्ति जनाएको छ। गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्न तत्काल उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने पार्टीको स्पष्ट अडान रहेको विज्ञप्तिमा उल्लेख छ।

साथै घाइतेको निःशुल्क उपचार, उचित व्यवस्थापन तथा तोडफोड र आगजनीबाट क्षति पुगेका धनसम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसले जनाएको छ।

बैठकले नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई वर्तमान संकटको मुख्य प्राथमिकता बनाउने निर्णय गरेको छ। कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न, घाइते परिवारलाई सहयोग गर्न र सामाजिक सद्भाव अभियान सञ्चालन गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।

त्यसैगरी पार्टीका सबै तहका समितिलाई वडा तहसम्म सामाजिक सद्भाव र धार्मिक सहिष्णुता प्रवर्द्धनका लागि अन्य राजनीतिक दल, सामाजिक संस्था, सरकार तथा सरोकारवालासँग संवाद गरी नेतृत्वदायी भूमिका खेल्न भनिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहका समितिलाई युवासँग नियमित छलफल र संवाद गर्न पनि निर्देशन दिइएको छ।

कांग्रेसले सम्बन्धित जिल्लाका संघीय सांसद, प्रदेशसभा सदस्य, केन्द्रीय पदाधिकारी तथा पार्टीका विभिन्न तहका जिम्मेवार नेताहरूलाई सम्भव भएसम्म आफ्ना जिल्लामा पुगेर समुदायसँग संवाद गर्न, घाइते र पीडित परिवारसँग भेटघाट गर्न तथा सामाजिक सद्भाव कायम गर्न पहल गर्न आग्रह गरेको छ।

पार्टीले आफ्ना नेता–कार्यकर्तालाई घटनासँग सम्बन्धित संवेदनशील विषयमा तथ्य नबुझी प्रतिक्रिया नदिन, अफवाह र मिथ्या सूचनाबाट टाढा रहन तथा हिंसा वा उत्तेजना फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।

पार्टीको कुनै पनि तहका पदाधिकारी वा सदस्य हिंसा, सामाजिक सद्भाव भड्काउने वा धार्मिक सहिष्णुता खलबल्याउने गतिविधिमा संलग्न भएको पाइएमा पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।