राष्ट्रिय भेला हुनुअघि नै सहमति हुनेमा डा कोइराला विश्वस्त

राष्ट्रिय भेला हुनुअघि नै सहमति हुनेमा डा कोइराला विश्वस्त


काठमाडौं — नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक ध्रुवीकरणलाई राष्ट्रिय भेलाअघि नै साम्य पार्ने प्रयास तीव्र बनेको छ। एकातिर डा. शेखर कोइराला पक्षले संस्थापनसँग संवाद बढाएको छ भने अर्कोतिर कांग्रेसनिकट नेता, युवा तथा जनप्रतिनिधिहरूले छुट्टाछुट्टै भेला र अभियान घोषणा गर्दै नेतृत्वमाथि एकताको दबाब बढाएका छन्।

१५औँ महाधिवेशनको तयारी, केन्द्रीय समितिको रिक्त संरचना र पार्टी सञ्चालनको मोडालिटीलाई लिएर देखिएको मतभेद समाधान गर्न अहिले विभिन्न तहमा अनौपचारिक संवाद चलिरहेको नेताहरूले बताएका छन्।

कांग्रेस नेता बद्री पाण्डेका अनुसार, राष्ट्रिय भेला अगाडि नै सहमतिको वातावरण बनाउने प्रयास भइरहेको छ। “हामी राष्ट्रिय भेलाअगावै कांग्रेसजनमा विश्वासको वातावरण बनोस् भन्ने चाहन्छौँ,” उनले भने, “त्यसका लागि सभापति गगनकुमार थापासँग भेटेरै संवाद गर्ने तयारी गरेका छौँ।”

उनका अनुसार, विवादको केन्द्र पार्टीको संगठनात्मक संरचना हो। संस्थापन पक्षले रिक्त पदमा नयाँ जिम्मेवारी दिन सकिने बताएको छ भने पूर्णबहादुर खड्का समूहले अघिल्लो कार्यसमितिका सबैलाई समेट्नुपर्ने अडान राखेको छ। यदि दुवै प्रस्तावमा सहमति जुट्न नसके १५औँ महाधिवेशनमा जाने विकल्पमा छलफल भइरहेको उनले बताए।

“कसैले कसैलाई सिध्याउने होइन, पार्टी मिलाउने हो। त्यसमा सभापति गगनजीले अझ अग्रसरता लिनुपर्छ,” पाण्डेले थपे।डा. शेखर कोइराला राष्ट्रिय भेला हुनुअघि नै सहमति हुनेमा विश्वस्त रहेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलिया बताउँछन्। “डा. सा’ब राष्ट्रिय भेला गर्नै पर्दैन भन्ने पक्षमा हुनुहुन्छ। त्यो बेलासम्म सहमति हुन्छ भन्ने उहाँको विश्वास छ,” उनले भने।