काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ ।
उम्मेदवार छनोटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यले पार्टीले ‘क्यान्डिडेट क्लब’सहित नयाँ कार्यविधि लागू गरेको हो ।
रास्वपाले आफ्नो विधानमा व्यवस्था गरिएको लिडरसिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचनको अवधारणाअनुसार रूपरेखा तयार गरेको जनाएको छ । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३५ हजार २२१ पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले यो प्रक्रिया अघि सारिएको पार्टीको भनाइ छ ।
रूपरेखाअनुसार मेयर, उपमेयर, वडाध्यक्ष वा वडा सदस्यमध्ये जुनसुकै पदमा उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिनुपर्नेछ । यसका लागि पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब गरी दुई तहको व्यवस्था गरिएको छ ।
आवेदक कानुनबमोजिम योग्य हुनुका साथै रास्वपाको साधारण सदस्य, पार्टीको विचार, सिद्धान्त र नीतिप्रति प्रतिबद्ध हुनुपर्नेछ । साथै घरेलु हिंसा, यौन दुर्व्यवहार र साइबर बुलिङमा संलग्न नभएको, वैवाहिक अवस्थाको कानुनी स्पष्टता तथा आफूविरुद्ध अदालतमा मुद्दा भए/नभएको लगायतका विषयमा स्वघोषणा पनि अनिवार्य गरिएको छ ।
उम्मेदवार छनोटमा लिडरसिप एकेडेमीको २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीको २५ प्रतिशत, समावेशिताको १० प्रतिशत र प्रारम्भिक निर्वाचनको ४० प्रतिशत भाराङ्क निर्धारण गरिएको छ ।
रूपरेखामा एउटै निर्वाचन चक्रभित्र प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्ति स्थानीय तहको उम्मेदवार छनोटमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्तिले सोही निर्वाचन चक्रमा हुने प्रदेशसभा निर्वाचनको उम्मेदवार छनोटमा सहभागी हुन नपाउने उल्लेख छ । वडा तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएकाले पनि सोही निर्वाचन चक्रभित्र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया