सर्लाही। लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेका छन्। भर्खरै रोपिएको धानबाली पानीमुनि परेपछि किसान चिन्तित बनेका छन् भने केही बस्ती र गोठसमेत प्रभावित भएका छन्। सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि बाढी बस्ती र खेतमा पसेको हो।
डुबानका कारण कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र वडा नं ५ भाडसरमा करिब ३ सय बिघा धानखेत प्रभावित भएको छ। चार दिनदेखि डुबान कायम रहेकाले स्थानीय जनजीवन कष्टकर बनेको छ। भाडसरका स्थानीय मुमताज मिकरानीका अनुसार लगातारको डुबानले दैनिक जीवन प्रभावित भएको छ। स्थानीय मोहम्मद समिम अख्तरले मलङ्गवा सदरमुकाम जोड्ने सडकसमेत डुबानमा परेकाले आवतजावतमा समस्या भएको बताए। उनका अनुसार सडकमाथिबाट पानी बगेकाले भारतीय बजार जानसमेत कठिन भएको छ। बाढीले कटान गरेको छपकैयामा बिहीबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा अस्थायी तटबन्ध निर्माण सुरु गरेका छन्। बोरामा बालुवा भरेर भत्किएको बाँध थुन्ने प्रयास भइरहेको छ। छपकैयाका किसान मोहम्मद इलयास खानले आठ कठ्ठामा रोपेको धान डुबानमा परेको बताउँदै यस वर्ष उत्पादन नहुने चिन्ता व्यक्त गरे। उनले विगत दस वर्षदेखि यही समस्या दोहोरिँदै आएको र खेतसँगै घरसमेत डुबानमा पर्ने गरेको गुनासो गरे।
अर्का किसान रामकिशुन यादवले दीर्घकालीन समाधानका लागि स्थायी तटबन्ध निर्माण गर्नुपर्ने माग गरे। गत वर्ष पनि बाँध भत्किँदा आफ्नो डेढ बिघा धानबाली नष्ट भएको तर क्षतिपूर्ति नपाएको उनले बताए। कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले लखन्देही खोलाको कटान र डुबान प्रत्येक वर्ष दोहोरिने समस्या भएको बताए। गाउँपालिकाले आफ्नो क्षमताअनुसार नियन्त्रणका काम गरिरहेको भए पनि स्थायी समाधानका लागि ठूलो बजेट आवश्यक रहेको र सम्बन्धित निकायसँग पहल भइरहेको उनले जानकारी दिए। उनका अनुसार बाँध भत्किएलगत्तै सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रणको काम सुरु गरिएको छ।
मलङ्गवा–५ भाडसरका श्याम रायले विगत १५ वर्षदेखि बाँध भत्किने र गाउँ डुबानमा पर्ने समस्या नरोकिएको भन्दै खेतीपातीमा पटक–पटक हुने क्षतिले उत्पादनसमेत घट्दै गएको बताए। अर्का स्थानीय जमशेद मियाँले पानी निकासको उचित व्यवस्था नहुँदा समस्या दोहोरिने गरेको र यति ठूलो डुबान हुँदा पनि सम्बन्धित निकायको प्रभावकारी उपस्थिति नदेखिएको गुनासो गरे। मलङ्गवा नगरपालिका–५ का वडाध्यक्ष मोहम्मद जुल्फकार अलीका अनुसार वडामा मात्र तीन सय बिघाभन्दा बढी खेत डुबानमा परेको छ। वडा नं। ६ का वडाध्यक्ष राम कैलाश यादवले पनि पाँच सय बिघाभन्दा बढी धानखेत प्रभावित भएको जानकारी दिएका छन्।

प्रतिक्रिया