काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्मका लागि तय गरेको राष्ट्रिय भेला करिब दुई सातापछि सार्ने भएको छ। इतर पक्षका एक शीर्ष नेताका अनुसार सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा पुनरावलोकनको अनुमति दिएर सुरुदेखि सुनुवाइ गर्ने आदेश दिएपछि नयाँ राजनीतिक परिस्थिति बनेको छ। साथै, पार्टीको राजनीतिक, आर्थिक तथा विधानसम्बन्धी विषयमा विस्तृत छलफल गर्न आवश्यक तयारी पूरा नभएकाले भेला केही समयका लागि सार्ने तयारी गरिएको हो।
इतर पक्षले राष्ट्रिय भेलाको नयाँ मिति भने नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि तय गर्ने जनाएको छ। देउवा नेपाल फर्किएपछि वरिष्ठ नेता डा शेखर कोइरालासँग भेटवार्ता गर्ने र त्यसपछि इतर पक्षका नेताहरूसँग छलफल गरी भेलाको नयाँ मिति सार्वजनिक गरिने स्रोतले जनाएको छ।
राष्ट्रिय भेलाको तयारीका लागि इतर पक्षले पूर्वमहामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ। समितिअन्तर्गत ३२ वटा उपसमिति गठन भई विभिन्न विषयमा प्रतिवेदन तयार गर्ने काम भइरहेको छ।
भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि सांगठनिक प्रतिवेदन, प्रकाशशरण महतले आर्थिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव तथा रमेश लेखकले विधानसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
भेलामा विशेष महाधिवेशनको समग्र समीक्षा गर्नुका साथै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बेहोरेको पराजयबारे पनि विस्तृत समीक्षा गरिने तयारी गरिएको छ। यसअघि साउन २९ गतेदेखि सुरु हुने राष्ट्रिय भेलामा शेरबहादुर देउवा र डा शेखर कोइराला दुवै सहभागी भई सम्बोधन गर्ने तयारी गरिएको छ। उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका देउवा हाल हङकङमा छन्।

प्रतिक्रिया