विराटनगर । नेपाली कांग्रेसका नेता तथा बिपी कोइरालाका भतिजा डा. शेखर कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आ.व. २०८३/८४ को बजेटमा कोइराला निवासको मर्मत तथा सम्भारका लागि विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता गर्न अस्वीकार गरेका छन्।
मन्त्रालयका सचिवलाई लेखेको पत्रमा डा. कोइरालाले भनेका छन्, “वर्तमान सरकारले नागरिक चेतनाको धरोहर तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर भनी विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोक, मोरङस्थित कोइराला निवासको मर्मतका लागि बजेट विनियोजन गरेकोमा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। तर राज्य सामु आम नागरिक जो बन्चना, अभाव र अनेकौं कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै यो रकम नैतिक रुपमा स्वीकार गर्न असमर्थ छु।”
पत्रमा उनले गत वर्ष भाद्र २४ गते जेन्जी आन्दोलनको क्रममा जलाइएको कोइराला निवासको ऐतिहासिक महत्व उल्लेख गर्दै भनेका छन्, “पिताजी कृष्णप्रसाद कोइरालाद्वारा शताब्दी पहिले निर्मित यो घर बिपी कोइरालाको नेतृत्वमा परिवारको समर्पण र सहयोगबाट आम नेपालीको राजनीतिक, बौद्धिक र सामूहिक चेतनाको संघर्षको साक्षी थियो। यो आम नेपाली जनताको भरोसा र विश्वासको केन्द्र पनि थियो।”
डा. कोइरालाले बिपी कोइरालाप्रति सच्चा श्रद्धाञ्जली राज्यले जनताको गाँस, बास र कपासका लागि समर्पित हुनुपर्ने बताएका छन्। “बिपी सम्पूर्ण नेपालीको गाँस, बास र कपासका लागि जीवनभर संघर्षरत रहनुभयो। राज्यले त्यस तर्फ समग्र रुपमा आफूलाई समर्पित गरोस्, यही नै बिपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ र यही नै कोइराला निवासप्रति न्याय गरेको ठहरिनेछ,” पत्रमा उल्लेख छ।
कोइराला निवास विराटनगर महानगरपालिका वडा नं. ७ मा अवस्थित छ। यो घर गत वर्षको आन्दोलनका क्रममा जलाइएपछि भौतिक रुपमा नष्ट भएको थियो। सरकारले यसको पुनःनिर्माण तथा मर्मतका लागि बजेट विनियोजन गरेको थियो।
डा. शेखर कोइरालाले यसअघि पनि कोइराला निवासलाई राजनीतिक प्रतीकको रुपमा मात्र होइन, जनताको चेतना र संघर्षको धरोहरको रुपमा हेर्ने बताउँदै आएका छन्। उनको यो अस्वीकृतिले बजेट विनियोजन र ऐतिहासिक सम्पदाको संरक्षणबारे नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया