एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यको एक अदालतले बालबालिकाको सुरक्षा र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याएको तथा जोखिमबाट जोगाउन असफल भएको ठहर गर्दै ‘मेटा’ लाई थप ५६७ मिलियन अमेरिकी डलर (करिब ४२१ मिलियन पाउन्ड) जरिवाना तिर्न आदेश दिएको छ। सामाजिक सञ्जाल कम्पनीविरुद्ध बाल सुरक्षाको मामिलामा सुनाइएको यो हालसम्मकै सबैभन्दा ठूलो फैसला हो।
न्यु मेक्सिको राज्य अदालतका न्यायाधीश ब्रायन बिडसाइडले मेटाको प्लेटफर्मलाई वायु प्रदूषण सरह एक “सार्वजनिक उपद्रव”को संज्ञा दिँदै भविष्यमा हुने क्षतिलाई न्यूनीकरण गर्न स्थापित गरिने कोषमा उक्त रकम जम्मा गर्न आदेश दिएका हुन्। यसअघि नै सोही मुद्दामा ३७५ मिलियन डलर जरिवाना तिर्न आदेश भइसकेको हुनाले अब मेटाले कुल ९४२ मिलियन डलर तिर्नुपर्ने भएको छ।
न्यायाधीश बिडसाइडले मेटाको विज्ञापन र सामग्रीलाई कारखानाको उत्पादनसँग तुलना गर्दै त्यसबाट उत्पन्न हुने बालबालिकाको मानसिक क्षति र यौन शोषणलाई ‘प्रदूषण’ को रूपमा व्याख्या गरेका छन्। अदालतले आदेश दिएको कुल ५६७ मिलियन डलरमध्ये ठूलो हिस्सा अर्थात् ४२० मिलियन डलर बालबालिकाको उपचार सेवा, क्लिनिकल तथा व्यवहारिक स्वास्थ्य कार्यक्रमहरूमा खर्च गरिनेछ। बाँकी रकम शिक्षक र स्वास्थ्यकर्मीहरूलाई सचेतना प्रदान गर्न तथा रोकथामसम्बन्धी कार्यक्रमहरूमा परिचालन गरिनेछ।
मेटामाथि लगाइएका अन्य कडा प्रतिबन्दहरू
आर्थिक जरिवाना बाहेक अदालतले मेटालाई बालबालिकाको सुरक्षाका लागि विभिन्न व्यावहारिक कदम चाल्न निर्देश गरेको छ:
१८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूको खाता कुनै पनि वयस्क प्रयोगकर्तालाई सिफारिस गर्न नपाइने।
१८ वर्षमुनिका प्रयोगकर्तालाई कुनै पनि वयस्कले प्रत्यक्ष सन्देश पठाउन नपाउने।
अल्पवयस्क प्रयोगकर्ताहरूबीच तस्बिर वा नग्नता पठाउन तथा प्राप्त गर्न पूर्ण प्रतिबन्ध लगाउने र बालबालिकाको यौनशोषणमा संलग्न वयस्क प्रयोगकर्ताहरूका लागि ‘१-स्ट्राइक नीति’ लागू गर्ने।
१८ वर्षमुनिका प्रयोगकर्ताहरूको प्रोफाइलमा ‘लाइक’ को संख्या लुकाउने।
राति १०:०० बजेदेखि बिहान ७:०० बजेसम्म र विद्यालय समयमा (बिहान ८:०० देखि दिउँसो ३:०० बजेसम्म) पुश नोटिफिकेशनहरू बन्द गर्ने।
फेसबूक र इन्स्टाग्राम दुवै प्लेटफर्ममा मिलाएर १८ वर्षमुनिका प्रयोगकर्ताका लागि महिनामा बढीमा ९0 घण्टा (अर्थात् दिनको करिब ३ घण्टा) मात्र प्रयोग गर्न पाउने अनिवार्य समय सीमा तोक्ने।
मेटाको प्रतिक्रिया र कानुनी लडाइँ
मेटाका प्रवक्ताले अदालतको यो निर्णयप्रति असहमति जनाउँदै माथिल्लो अदालतमा अपिल गर्ने प्रतिक्रिया दिएका छन्। कम्पनीले आफूहरूले प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा मेहनत गरिरहेको र किशोरकिशोरीहरूलाई अनलाइनमा सुरक्षित राख्ने मामिलामा आफ्ना प्रयासहरू पारदर्शी रहेको दाबी गरेको छ।
न्यु मेक्सिकोका एर्नी जनरल राउल टोरेजले भने यो निर्णय बालबालिकाको हितका लागि ऐतिहासिक विजय भएको बताएका छन्। अमेरिकाभर बालबालिकाको सुरक्षा र गोपनीयताको उल्लङ्घन गरेको आरोपमा मेटामाथि यस्ता हजारौं मुद्दाहरू विचाराधीन छन् भने आगामी साता क्यालिफोर्नियामा पनि यस्तै प्रकृतिको अर्को ठूलो मुद्दाको सुनुवाइ सुरु हुँदैछ।

प्रतिक्रिया