प्रधानमन्त्री बनेपछि भारतीय राजदूतसँग बालेनको पहिलो एकल भेट

प्रधानमन्त्री बनेपछि भारतीय राजदूतसँग बालेनको पहिलो एकल भेट


काठमाडौं । प्रधामन्त्री बालेन्द्र शाह बालेनसँग काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । यसअघि प्रधानमन्त्रीसँग भारतीय राजदूतले सहज रूपमा भेट गर्ने गरेको भए पनि बालेनसँग भने चार महिनापछि भारतीय राजदूतले एकल रूपमा भेट गर्ने मौका पाएका हुन् ।

यसअघि प्रधानमन्त्री बनेलगत्तै बालेनले काठमाडौंस्थित विदेशी राजदूतहरूसँग सामूहिक भेट गरेका थिए । उनले एकल भेट नगर्ने नीति लिएका कारण यो बीचमा काठमाडौं आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसियाली दूतले समेत बालेनसँग भेट गर्न पाएका थिएनन् ।

तर चार महिनापछि प्रधानमन्त्री बालेन आफ्नो कूटनीतिक नीतिमा यू टर्न भएका छन् । उनले सोमबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भारतीय राजदूतसँग भेट गरेका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले यो भेटबारे जानकारी दिएकी छिन् ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री बालेनले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको बताइएको छ ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको पनि चर्चा चलिरहेको छ । यसअघि गत वैशाखमै बालेनलाई दिल्ली भ्रमण गराउने तयारी भएको थियो । त्यतिबेला भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने तयारीमा रहेका थिए । तर, बालेनसँग मिश्रीको भेट नहुने भएपछि उनको काठमाडौं भ्रमण नै स्थगित भएको थियो ।

त्यसपछि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गरेका थिए ।

दक्षिणी छिमेकी राजदूतसँग बिहान भेट गरेका प्रधानमन्त्री बालेनले अपराह्न उत्तरी छिमेकी चिनियाँ राजदूतसँग पनि भेट गर्दै छन् ।