देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ – सांसद घतानी

देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ – सांसद घतानी


काठमाडौं । नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घतानीले एमाले सदनमा प्रतिपक्ष भए पनि नेपालको विपक्षी नभएको बताइन् । नेपालको भूगोल र सार्वभौमसत्तासँग जोडिएको विषयमा मौन बस्न नसक्ने भन्दै उनले आफ्नो पार्टीको विरोध निरन्तर रहने बताइन् ।

उनले भनिन्,‘हामी यो सदनमा प्रतिपक्ष हौँ, नेपालको विपक्षी होइनौँ । सदन अवरुद्ध गर्ने हाम्रो इच्छा हुँदै होइन । सदन जिम्मेवार ढङ्गले चलोस् भन्ने चाहन्छौँ । जनताको समस्या उठाउन चाहन्छौँ । तर नेपालको भूगोल र सार्वभौमसत्तासँग जोडिएको विषयमा मौन बस्न सक्दैनौँ । त्यसैले विरोध निरन्तर छ ।’

प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति सच्याउनुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्नेमा उनले जोड दिइन् ।

‘प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ । उक्त विवादित भनाइ सम्मानित सदनको अभिलेखबाट हटाउनैपर्छ । नसच्याउने, नहटाउने हो भने इतिहासले आफैँ फैसला गर्नेछ,’ उनले भनिन् ।

प्रधानमन्त्रीले सरकारी संयन्त्रलाई बाइपास गरेर सामाजिक सञ्जालमार्फत राष्ट्रलाई सम्बोधन गरेको भन्दै उनले प्रश्न उठाइन् । प्रधानमन्त्रीको फेसबुक पेजबाट हुने सम्बोधनलाई लिएर उनले राज्य सञ्चालन संविधान र संस्थामार्फत हुनुपर्ने बताइन् ।

उनले भनिन्,‘प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्यूज र मोनिटाइजेसन बढाउनुभएको हो ? डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ । तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्यूजबाट देश चलाउने होइन । देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ ।’

सरकारले कर तिर्ने नागरिकलाई पुरस्कार दिएको विषय सकारात्मक भए पनि स्वास्थ्य बीमा बन्द हुँदा उपचारबाट वञ्चित नागरिकको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने उनले बताइन् ।

ग्यासको अभाव, स्वास्थ्य उपचार, रोजगारी तथा महँगीलगायतका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा समेत बजार अनुगमन र मूल्य नियन्त्रण प्रभावकारी हुन नसकेको बताइन् ।

राज्यसँग जोडिएका हरेक वर्ग कुनै न कुनै समस्यामा रहेको भन्दै उनले जनता निराश हुँदा पनि सरकारलाई के कुराले ढुक्क बनाएको हो भन्ने प्रश्न गरिन् ।