पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र मातहतका सबै कार्यसमिति भंग गरेर १५औँ महाधिवेशनको बाटो खोल्न केन्द्रीय सभापति गगनकुमार थापासँग आग्रह गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापालाई खुला पत्र लेख्दै बरालले पार्टीका सबै तहका समिति भंग गरी सबै पक्षको सहमतिमा १५औँ महाधिवेशन सम्पन्न गर्न अधिकारसम्पन्न महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका हुन्।
कांग्रेसका अग्रज नेताहरू र गगन थापा नेतृत्वको केन्द्रीय समितिबीच मतभेद बढिरहेका बेला बरालको यस्तो प्रस्ताव आएको हो। पार्टी विभाजनको चर्चासमेत चलिरहेका बेला थापा र महामन्त्री विश्वप्रकाश शर्मानिकट मानिने कास्की कांग्रेसका सभापति बरालले सार्वजनिक रूपमा यस्तो धारणा राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बरालले सभापति थापालाई पार्टीका असन्तुष्ट नेताहरूका माग पूरा गरेर महाधिवेशनको वातावरण बनाउन आग्रह गरेका छन्। उनले आलोचकहरूलाई समेत निश्चिन्त भएर सुत्न सक्ने वातावरण बनाउनु नेतृत्वको जिम्मेवारी भएको उल्लेख गरेका छन्। ‘दाजुहरूको सबै माग पूरा गरिदिनुहोस्। नेतृत्व भनेको आफ्ना आलोचकहरूलाई पनि निश्चिन्त भएर सुत्न सक्ने वातावरण बनाइदिनु पनि हो,’ बरालले लेखेका छन्।
उनले असन्तुष्ट पक्षले माग गरेका व्यक्तिहरूलाई समेत समेटेर आवश्यक समितिहरू गठन गर्न र १५औँ महाधिवेशनका लागि आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्न सुझाव दिएका छन्। ‘दाजुहरूकै मागअनुसार दाजुहरूले नै भनेका मानिसहरू समेत राखेर के–के समिति बनाउनुपर्ने हो बनाउँछु भन्नु भएकै छ, बनाउनुहोस्,’ उनले भनेका छन्, ‘दुनियाँले राम्रोसँग देख्न, सुन्न र महसुस गर्न सक्ने गरी सबैको सहमतिमा १५औँ महाधिवेशन गर्न आवश्यक पर्ने सबै अधिकारहरू प्रत्यायोजन गरेर एउटा अधिकारसम्पन्न समिति बनाइदिनुहोस्।’
बरालले केन्द्रदेखि प्रदेश, जिल्ला र मातहतका सबै कार्यसमिति भंग गर्नसमेत आग्रह गरेका छन्। उनका अनुसार यसो गर्दा पार्टीभित्रको विवाद समाधान गर्दै महाधिवेशनका लागि नयाँ बाटो खुल्न सक्छ। उनले असन्तुष्ट नेताहरूले भन्न छुटाएका वा माग्न नभ्याएका विषयसमेत सोधेर पूरा गर्न सभापति थापालाई आग्रह गरेका छन्।
बरालले कठिन अवस्थामा पद र राजनीतिक लाभभन्दा पार्टीको भविष्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। नेताहरू चुनाव जितेर वा पदमा बसेर मात्र महान् नहुने भन्दै उनले कठिन समयमा सही निर्णय गर्न सक्ने नेतृत्वले इतिहासमा आफ्नो स्थान बनाउने बताएका छन्। ‘कठिन समयमा ठूलो कुरा बोल्नुभन्दा ठूलो निर्णय गर्ने साहस चाहिन्छ,’ उनले लेखेका छन्, ‘राजनीतिमा सबै कुरा जित्नु पर्दैन। कहिलेकाहीँ केही कुरा छोडेर पनि इतिहास जित्नुपर्छ।’
कांग्रेसभित्र महाधिवेशनको नेतृत्व, क्रियाशील सदस्यता तथा पार्टीको वैधानिकतासम्बन्धी विवाद चर्किरहेका बेला कास्की सभापति बरालले राखेको यो प्रस्तावले संस्थापन पक्षभित्र पनि पार्टी एकताका लागि संरचनागत रूपमा नयाँ बाटो खोज्नुपर्ने आवाज बलियो हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया