हर्क साम्पाङको सरकारमाथि कडा प्रहार – ‘एसी कोठामा बसेर देश बुझिँदैन’ (भिडियो )

हर्क साम्पाङको सरकारमाथि कडा प्रहार – ‘एसी कोठामा बसेर देश बुझिँदैन’ (भिडियो )


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवा–सुविधा र रोजगारीको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारमाथि कडा प्रश्न उठाएका छन्।    प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले राज्यले नागरिकलाई पहिलो प्राथमिकतामा सुरक्षा दिनुपर्ने बताए। सांसदसमेत सुरक्षित नभएको अवस्था रहेको भन्दै उनले देशलाई ‘देशजस्तो’ बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने धारणा राखे।
‘नेपालमा कोही पनि सुरक्षित छैनन्। सांसदसमेत सुरक्षित भएको अवस्था छैन। राज्यले नागरिकलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्छ,’ उनले भने।
साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्नुपर्ने बताए। प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आफूहरूले लामो समयदेखि माग गर्दै आए पनि प्रधानमन्त्रीले ‘बालहठ’ देखाएको उनको आरोप छ।   देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढ्दै गएको उल्लेख गर्दै उनले सरकार कमजोर हुँदा यस्ता गतिविधिले प्रश्रय पाउने बताए। तराई–मधेसमा नागरिकले अझै पनि असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
उनले न्याय प्रणालीप्रति समेत प्रश्न उठाउँदै आन्दोलनरत नागरिकलाई सरकारले प्रत्यक्ष भेटेर उनीहरूका समस्या बुझ्नुपर्ने बताए। प्रधानमन्त्री र मन्त्रीहरू एसी भएको कोठामा बसेर मात्रै देशको वास्तविक अवस्था बुझ्न नसक्ने उनको टिप्पणी थियो।  ‘स्टेटसबाट कता के गर्ने भन्ने कुराहरू सुन्छु, त्यस्तो केटाकेटीपनले देश चल्दैन। दुई तिहाइको नजिकको सरकारलाई काम गर्न केले रोकेको छरु’ साम्पाङले प्रश्न गरे।   साम्पाङको अभिव्यक्तिले सरकारको कार्यशैली, प्रधानमन्त्रीको संसद् उपस्थितिलगायतका विषयमा सत्तापक्षप्रति विपक्षी दलहरूबाट भइरहेको आलोचनालाई थप तीव्र बनाएको छ।