कोशी सरकारबाट कांग्रेस बाहिरियो

कोशी सरकारबाट कांग्रेस बाहिरियो


काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।

बुधबार कांग्रेसका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले सामूहिक रूपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सरकारमा सहभागी थिए । उनीहरूले एकसाथ राजीनामा दिएका हुन् ।

यससँगै एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच बनेको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्ने भएको छ ।

कांग्रेस २०८१ भदौमा एमालेसँग भएको सत्ता साझेदारीको सहमतिअनुसार कोशी प्रदेश सरकारमा सहभागी भएको थियो । तर, गत साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारहरूमा संयुक्त रूपमा सहकार्य गर्ने सहमति भएपछि प्रदेशको सत्ता समीकरण परिवर्तन भएको हो ।

नयाँ राजनीतिक समीकरणअनुसार अब कोशी प्रदेश सरकारमा नेकपाको सहभागिता हुने भएको छ ।