देउवाको अपिल – नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु

देउवाको अपिल – नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएलगत्तै उनले चारबुँदे लिखित अपिल जारी गर्दै आफू अब ‘नेता’ भन्दा पनि ‘आजीवन नागरिक’ का रूपमा देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अपिलमा देउवाले पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि विदेश जाँदा आफूले पार्टी, देश र लोकतन्त्रप्रति गहिरो विश्वास बोकेर यात्रा थालेको स्मरण गरेका छन् । उपचार अवधिभर नेपाली जनताको माया, शुभेच्छा र प्रार्थनाले आफूलाई थप ऊर्जा दिएको उल्लेख गर्दै उनले त्यसप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु– सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भनेका छन्, ‘कृतज्ञताले परिपूर्ण हृदय र परिवर्तनका समीरलाई आत्मसात् गर्न तत्पर खुला चेतनासहित स्वास्थ्य उपचार सकेर म तपाईंहरूमाझ पाँच महिनापछि फर्किएको छु ।’

देउवाले आफ्नो राजनीतिक यात्रामा साथ दिने नेता–कार्यकर्ता, शुभेच्छुक तथा आमनागरिकप्रति धन्यवाद व्यक्त गर्दै आफूले प्राप्त गरेको सम्मानलाई अझ ठूलो जिम्मेवारीका रूपमा लिएको बताएका छन् । उपचारपछि आफूभित्र देश, लोकतन्त्र र नागरिकप्रतिको दायित्वबोध झनै गहिरिएको पनि उनले उल्लेख गरेका छन् ।

अपिलमा उनले नेपाल अहिले परिवर्तनको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् । राजनीतिक दलबीच संवाद, सहकार्य र सहमतिका आधारमा संविधान कार्यान्वयन, सुशासन, आर्थिक विकास र नागरिकको जीवनस्तर उकास्ने अभियानलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यताको प्रमुख संवाहक भएको उल्लेख गर्दै उनले पार्टीलाई अझ सशक्त, आधुनिक र जनमुखी बनाउन आफू सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । पार्टीभित्रको एकता, अनुशासन, विचार र संगठनलाई सुदृढ बनाउँदै युवापुस्ताको सहभागिता बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

देउवाले विदेशमा रहेका नेपालीप्रति पनि विशेष धन्यवाद व्यक्त गर्दै उनीहरूको योगदान राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । साथै, देशभित्र राजनीतिक मतभेद भए पनि राष्ट्रिय हितका सवालमा सबै पक्ष एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

आफ्नो सन्देशको अन्त्यमा उनले आफू अब व्यक्तिगत पद वा प्रतिष्ठाभन्दा माथि उठेर देश, लोकतन्त्र र नागरिकको हितका लागि काम गर्ने बताएका छन् ।

‘म नेता भएर होइन, यसपटक आजीवन नागरिक बनेर फर्किएको छु । निर्माण, समर्पण र संवादमा सबैसँग हातेमालो गर्दै अघि बढ्नेछु,’ देउवाले अपिलमा उल्लेख गरेका छन् ।

चारबुँदे अपिलमार्फत देउवाले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यको संरक्षण, नेपाली कांग्रेसको सुदृढीकरण र जनसेवालाई आफ्नो आगामी प्राथमिकता बनाउने स्पष्ट सन्देश दिएका छन् ।