काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार गृहजिल्ला झापा जाँदैछन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि उनी पहिलोपटक झापा जान लागेका हुन्। प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका ओली चुनाव प्रचारप्रसारका क्रममा लामो समय निर्वाचन क्षेत्रमा बसेका थिए। तर, उनको मतदाता नामावली भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेकाले मतदान गर्न उनी फागुन १८ गते काठमाडौं फर्किएका थिए।
निर्वाचनमा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग ५० हजार मतान्तरले पराजित भएका थिए। शाह त्यसपछि चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। यसअघि भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि ओलीलाई पक्राउ गरिएको थियो। सोही दिन प्रहरी उनको गुण्डुस्थित निवासमा रातभर खटिएको थियो भने चैत १४ गते बिहानै उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।
ओलीको सचिवालय प्रमुख निरुदेवी पालका अनुसार उनी शनिबार बिहान पहिलो उडानबाट झापा जाने कार्यक्रम रहेको छ। ‘अध्यक्षज्यू भोलि बिहान पहिलो फ्लाइटबाट झापा जाने कार्यक्रम छ,’ पालले नेपालखबरसँग भनिन्, ‘उहाँ चुनावपछि पहिलो पटक गृहजिल्ला पुग्दै हुनुहुन्छ।’ प्रतिनिधिसभा निर्वाचन, त्यसपछिको राजनीतिक घटनाक्रम र हिरासतपछि एमाले अध्यक्ष ओली पहिलोपटक गृहजिल्ला झापा जान लागेका हुन्।

प्रतिक्रिया