गगनप्रति मोहन बस्नेतको कटाक्ष – बोकाले दाँइ हुने भए गोरु चाहिँदैन

गगनप्रति मोहन बस्नेतको कटाक्ष – बोकाले दाँइ हुने भए गोरु चाहिँदैन


काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले सभापति गगन थापाले पार्टी प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको टिप्पणी गरेका छन् ।

थापालाई व्यंग्य गर्दै उनले भने, ‘म गगन थापालाई पुरानो उखान सम्झाउँछु – बोकाले दाँइ हुने भए गोरु चाहिँदैन । गगन आएपछि पार्टी चलेको छैन ।’

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबार आयोजित संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापाले युवाको नेतृत्वको नारा दिए पनि त्यसअनुसार परिणाम दिन नसकेको आरोप लगाए । उनका अनुसार स्थानीय तहदेखि केन्द्रसम्म बलियो अवस्था रहेको कांग्रेस थापाको नेतृत्वपछि कमजोर बन्दै गएको छ ।

बस्नेतले थापा नेतृत्वमा आउनुअघि कांग्रेस अधिकांश निर्वाचित निकायमा बलियो अवस्थामा रहेको दाबी गरे । उनका अनुसार वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभामा कांग्रेसको बहुमत थियो भने राष्ट्रिय सभामा पनि सभापति शेरबहादुर देउवाले एमालेसँग सहकार्य गरेर बहुमत सुनिश्चित गरेका थिए ।

‘गगनजी, तपाईंले पार्टीलाई धरासायी बनाउनुभयो । तपाईंबाट पार लाग्दैन,’ बस्नेतले भने ।