सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ : देउवा

सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ : देउवा


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्।  महाराजगन्जस्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनको आवश्यकता आफूले नदेखेको बताएका छन्। पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस विषयमा धेरै बोल्नु उपयुक्त नहुने उनको भनाइ छ।

‘विशेष महाधिवेशनको पक्षमा थिइनँ, मैले त्यो आवश्यकता पनि देखिनँ। सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ,’ उनले भने, ‘अदालतमा विचाराधीन भएको हुनाले धेरै बोल्नु भएन। मलाई विश्वास छ, अदालतले न्याय दिनेछ।’

देउवाले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता प्रजातन्त्रका लागि अत्यन्त आवश्यक रहेको पनि बताएका छन्। यसैगरी, उनले सुदूरपश्चिमप्रति आफू कृतज्ञ रहेको उल्लेख गर्दै त्यहाँ अझै केही काम गर्न बाँकी रहेको बताए। सुदूरपश्चिमका जनताले आफूलाई निरन्तर सहयोग गरेको भन्दै उनले बाँकी काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।   ‘म जहाँ भए पनि सुदूरपश्चिममा मैले केही कामहरू बाँकी छन्, त्यो पूरा गर्नु बाँकी छ,’ उनले भने, ‘सुदूरपश्चिमका जनताले मलाई सहयोग गरेका छन्। सुदूरपश्चिमका जनताप्रति म आभारी छु।’