काठमाडौँ — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन गर्ने वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन्। उनले कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
शनिबार काठमाडौँमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र देखिन सक्ने विवाद तथा मतभेदलाई संवादमार्फत समाधान गर्न सकिने बताए।
आगामी १५औँ महाधिवेशनको प्रसंगमा उनले आफू पार्टी सभापति पदका लागि इच्छुक रहेको स्पष्ट पारे। यद्यपि, आफ्नो व्यक्तिगत इच्छाले मात्र निर्णय नहुने भन्दै उनले साथीहरूसँग परामर्श गरेर अन्तिम निर्णय लिने बताए।
नेता शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गर्दै उनले शेखर सभापतिका लागि अघि बढे आफूले सहयोग गर्ने संकेतसमेत दिए।
‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन। जनताको चाहनाअनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ,’ कोइरालाले भने।
उनले नयाँ र संगठित कांग्रेस निर्माणका लागि अबको मुख्य केन्द्रबिन्दु विकास हुनुपर्ने बताए। नीति राम्रो भए मात्र जनतालाई आकर्षित गर्न सकिने उल्लेख गर्दै उनले कांग्रेसले आगामी दिनमा ठोस नीति र विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया