काठमाडौं । भारतीय सेनाका प्रधान सेनापति धिरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउँदै छन्। नेपाली सेनाका अनुसार सेठ आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले उनको नेपाल भ्रमण चार दिनको हुने जानकारी दिए।
सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम छ। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सेठ गत जुन ३० मा भारतीय सेनाको ३१औँ प्रधान सेनापतिका रूपमा नियुक्त भएका थिए।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग समेत भेटवार्ता गर्ने सम्भावना छ। नेपाली सेनाका प्रवक्ता बस्नेतका अनुसार प्रधानमन्त्रीसँग भेटका लागि पत्राचार गरिए पनि अहिलेसम्म जवाफ प्राप्त भएको छैन। ‘प्रधानमन्त्रीसँग भेटका लागि पत्र पठाएका छौँ। जवाफ आइसकेको छैन,’ उनले भने। चारदिने भ्रमण पूरा गरी सेठ बुधबार भारत फर्किने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया