कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलनमा पाँच प्रस्ताव पारित

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलनमा पाँच प्रस्ताव पारित


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा प्रस्तुत पाँचवटै प्रस्ताव सुझावसहित पारित भएका छन्।  शनिबार बन्द सत्रमा पाँचवटा प्रतिवेदन छलफलका लागि प्रस्तुत गरिएको थियो। सहभागी प्रतिनिधिहरूले प्रतिवेदनमाथि समूहगत छलफल गरी दिएका सुझाव समेट्दै सबै प्रस्ताव पारित गरिएको नेताहरूले बताएका छन्।

बन्द सत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक, प्रकाशशरण महतले आर्थिक, उमाकान्त चौधरीले सांगठनिक, रमेश लेखकले कानुनी तथा एनपी साउदले समसामयिक घटनाक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको सम्बन्धित नेताहरूले जवाफसमेत दिएका थिए।  संस्थापनइतर पक्षले साउन २९ गते राष्ट्रिय भेला आयोजना गरेको थियो। उक्त भेलालाई पछि सम्मेलनमा रूपान्तरण गरिएको हो। सम्मेलनको समापन आज गर्ने तयारी छ।

सम्मेलनको बन्द सत्रमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी भएका छन्।  गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका कांग्रेस नेताहरू तथा प्रतिनिधिहरूले राष्ट्रिय भेला हुँदै सम्मेलन आयोजना गरेका हुन्। सम्मेलनमार्फत पार्टीभित्रको आन्तरिक विवाद, संगठन सुदृढीकरण र आगामी महाधिवेशनका विषयमा समेत छलफल भइरहेको छ।