काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापन कार्यक्रममा सहभागी भएनन्। पूर्वसभापति शेरबहादुर देउवाका निकट मानिने खड्का पछिल्लो समय इतर समूहले अघि बढाएको समानान्तर राजनीतिक गतिविधिप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ।
जेनजी आन्दोलनपछि सभापति देउवाले आफू राजनीतिबाट विश्राम लिने घोषणा गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर त्यसको केही समयपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र राजनीतिक ध्रुवीकरण बढेको थियो। त्यसपछि खड्कासहितका नेताहरूले इतर पक्षको नेतृत्व गर्दै आएका थिए। निर्वाचन आयोग र अदालतबाट गगन थापाको नेतृत्वमा रहेको कांग्रेसले वैधानिकता पाएपछि इतर समूहका थुप्रै नेताहरूले सोही पक्षबाट टिकट लिएर निर्वाचनमा भाग लिएका थिए। खड्का भने निर्वाचनमा उम्मेदवार बनेनन्। इतर समूहबाट चुनाव लडेका अधिकांश नेताहरू पराजित भएपछि कांग्रेसको निराशाजनक चुनावी परिणामलाई लिएर उक्त समूहले समानान्तर गतिविधि तीव्र बनाउँदै आएको छ।
तर खड्का भने पछिल्लो समय समानान्तर गतिविधिको पक्षमा नरहेको उनीनिकट स्रोत बताउँछ। राष्ट्रिय भेला आयोजना गर्ने विषयमा पनि उनी सुरुदेखि नै सहमत थिएनन्। खड्का सक्रिय रूपमा अघि नबढेपछि भेलाको संयोजकको जिम्मेवारी शशाङ्क कोइरालालाई दिइएको थियो। त्यसयता कोइरालाले इतर पक्षको नेतृत्व गर्दै आएका छन्। आइतबार सम्पन्न भेलाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजना गर्ने निर्णयसमेत गरेको छ। महाधिवेशनसम्बन्धी गतिविधिको संयोजन गर्ने जिम्मेवारी पनि शशाङ्कलाई दिइएको छ।
स्रोतका अनुसार खड्का भने पार्टीलाई थप विभाजनतर्फ लैजान नहुने पक्षमा छन्। पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा अदालतले पुनरावलोकनको आदेश दिइसकेको अवस्थामा अन्तिम फैसला पर्खिनुपर्ने उनको धारणा छ। तर इतर समूहका अधिकांश नेताहरू भने अब धैर्य गरेर बस्न नसकिने निष्कर्षमा पुगेका छन्। खड्का भेलाको पहिलो दिन भने सहभागी भएका थिए। उनले सम्बोधन गर्दै शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए। स्रोतका अनुसार उनी पहिलो दिन पनि भेला जान खासै इच्छुक थिएनन्। विदेशबाट भर्खर फर्किएका देउवाले आफूलाई राम्रो नमान्लान् भन्ने सोचले उनी कार्यक्रममा सहभागी भएको स्रोतको भनाइ छ।
समापन कार्यक्रममा अनुपस्थित खड्का अब इतर समूहले गर्ने समानान्तर राजनीतिक गतिविधिमा समेत सक्रिय रूपमा संलग्न नहुने उनीनिकट स्रोतको दाबी छ। यसले कांग्रेसको इतर समूहभित्रको आगामी राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने देखिएको छ।

प्रतिक्रिया